Call for Applications
- Home
- Call for Applications
Call for Applications
छात्रवृत्ति आवेदन फारम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना
ज्योतिर्ज्ञान भवन परोपकारी समाजद्वारा शैक्षिक सत्र २०८३/०८४ का लागि बेलडाँडी गाउँपालिका भित्रका जेहेन्दार तथा लक्षित वर्गका विद्यार्थीहरूलाई उच्च शिक्षा (कक्षा ११ वा सो सरह) मा अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्नका लागि आवेदन आह्वान गरिन्छ। मिति २०८२ साल चैत्रमा सञ्चालित SEE परीक्षामा सहभागी भई ग्रेडेड (Graded) विद्यार्थीहरूले छात्रवृत्तिका लागी यो निबेदन दिन सक्नेछन।
खण्ड १. न्यूनतम योग्यता तथा सर्तहरू (Eligibility & Criteria)
- आवेदकले नेपालभरिका जुनसुकै सामुदायिक वा सरकारी विद्यालयबाटSEE उत्तीर्ण गरेको भए तापनि कञ्चनपुर जिल्ला, बेलडाँडी गाउँपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ। संस्थागत (निजी) विद्यालयबाट SEE उत्तीर्ण गरेका विद्यार्थीहरू यस छात्रवृत्ति कार्यक्रमका लागि योग्य मानिने छैनन्।
- कुनै एक बिषयमा मात्र फाराम भर्न सकिनेछ।
- बेलडाँडी गाउँपालिका भित्र सञ्चालित उच्च माध्यमिक विद्यालय वा कलेजमा कक्षा ११ वा सो सरहको कार्यक्रममा भर्ना भएका वा भर्ना हुन इच्छुक विद्यार्थीहरूलाई छात्रवृत्ति वितरणमा पहिलो प्राथमिकता प्रदान गरिनेछ।
- बेलडाँडी गाउँपालिकाका स्थायी विद्यार्थीहरूको हकमा गाउँपालिकाभित्र सम्बन्धित विषय, कार्यक्रम वा प्राविधिक शिक्षा उपलब्ध नभएको अवस्थामाCTEVT तथा सो सरहका प्राविधिक कार्यक्रम अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई विशेष आधारमा विचार गर्न सकिनेछ। यस व्यवस्था अन्तर्गत गाउँपालिका बाहिर अध्ययनरत कक्षा ११ वा सो सरहका साधारण शैक्षिक कार्यक्रमहरूलाई समावेश गरिने छैन।
- आबेदन मिति २०८३/०२/२६ गते बिहान १० बजे देखी २०८३/०३/०३ गते राती १२ बजेसम्म online फाराम भरी निसुल्क रूपमा दिन सकीने छ।
छात्रवृत्ति वितरण गर्दा उपलब्ध बजेटका आधारमा न्यूनतम २० जना योग्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने लक्ष्य राखिएको छ। तथापि अतिरिक्त स्रोत, साझेदारी वा वित्तीय सहयोग उपलब्ध भएमा थप योग्य विद्यार्थीहरूलाई समेत छात्रवृत्ति प्रदान गर्न सकिनेछ।
खण्ड २. आरक्षण तथा सिट वितरण (Reservation Quotas)
सरकारी मापदण्ड र स्थानीय जनसांख्यिकीय बनोट अनुसार छात्रवृत्ति सिटहरूलाई निम्न विधामा वर्गीकरण गरिएको छ:
- जनजाति समूह (थारु, रानाथारु लगायत): ३०% सिट
- दलित समुदाय (कामी, दमाई, सार्की, बादी लगायत): २५% सिट
- खस आर्य (क्षेत्री/ब्राह्मण/ठकुरी – आर्थिक रूपमा विपन्न): १०% सिट (यसका लागि स्थानीय वडा कार्यालयको विपन्नता सिफारिस अनिवार्य हुनेछ)
- महिला कोटा (सबै जाति भित्रका छात्राहरूका लागि): ३०% सिट
- अन्य सीमान्तीकृत, अपाङ्गता, अभिभावक नभएका व्यक्ति वा द्वन्द्वपीडित परिवार: ५% सिट
खण्ड ३. आवेदन दिने विधि र आवश्यक विवरणहरू (Application Workflow)
यो छात्रवृत्तिको छनौट प्रक्रिया दुई चरणमा सम्पन्न हुनेछ।
- चरण १: प्रारम्भिक चरणमा विद्यार्थीहरूले ब्यक्तिगत, SEE र कक्षा ११ वा सो सरह अध्ययन गर्न चाहेको बिषय सम्बन्धी विवरण भर्नु पर्नेछ।
- चरण २: अनलाइन आवेदनको आधारमा सर्टलिस्ट (Shortlist) गरिएका विद्यार्थीहरूले निम्न कागजातहरूको प्रतिलिपि पेस गर्नु पर्नेछ। आधिकारिक प्रतिलिपि SEE पास गरेको बिध्यालय वा ११ वा सो सरहमा भर्ना भएको वा हुन चाहेको नजीकको विद्यालयमा पेस गर्नु पर्नेछ।
- एस.ई.ई. (SEE) २०८३ को लब्धाङ्क पत्र (Marksheet) र चारित्रिक प्रमाणपत्र (Character Certificate)।
- सम्बन्धित SEE पास गरेको विद्यालय सरकारी/सामुदायिक नै हो भनी प्रमाणित गर्ने प्रधानाध्यापक र वडा कार्यालय/शिक्षा शाखाको सिफारिस पत्र (अनुसूची बमोजिम)।
- स्थायी बासिन्दा प्रमाणित हुने बुबा वा आमाको नागरिकताको प्रमाणपत्र तथा विद्यार्थीको जन्मदर्ता प्रमाणपत्र।
- एक प्रति फोटो।
- लक्षित समूह (दलित, जनजाति, मधेसी वा अपाङ्गता) खुलाउने आधिकारिक सरकारी प्रमाणपत्र वा वडा कार्यालयको सिफारिस पत्र।
- ११ वा सो सरहमा भर्ना भैसकेको भए सो बिद्यालयबाट भर्ना भैसकेको सिफारिस पत्र।
- कुनै शैक्षिक कार्यक्रममा भर्ना हुनको लागी entrance exam दीएको भए सो entrance exam को रिजल्ट ।
खण्ड ४: छात्रवृत्ति सहयोगको प्रकार (Type of Scholarship Support)
उपलब्ध बजेट, विद्यार्थीको आवश्यकता तथा छात्रवृत्ति छनोट समितिको निर्णय अनुसार निम्न क्षेत्रहरूमा सहयोग प्रदान गर्न सकिनेछः
- शिक्षण शुल्क सहयोग (Tuition Fee Support): मासिक तथा वार्षिक शिक्षण शुल्क, भर्ना शुल्क तथा परीक्षा शुल्क।
- शैक्षिक सामग्री सहयोग (Educational Materials Support): कापी, कलम, स्टेशनरी तथा अध्ययनका लागि आवश्यक अन्य सामग्रीहरू।
- विद्यालय पोशाक सहयोग (School Clothing Support): विद्यालय पोशाक, जुत्ता, झोला तथा आवश्यक लत्ताकपडा।
- पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री सहयोग (Books and Reading Materials Support): पाठ्यपुस्तक, सहयोगी पुस्तक तथा अन्य अध्ययन सामग्रीहरू।
- आवास तथा यातायात सहयोग (Accommodation and Travel Support): आवश्यकता अनुसार होस्टेल, डेरा वा अध्ययनसँग सम्बन्धित यातायात खर्चमा सहयोग।
- अन्य शैक्षिक सहयोग (Other Educational Support): अध्ययनका लागि आवश्यक उपकरण वा अन्य सहयोग।
छात्रवृत्तिका लागि छनोट हुनु मात्र सबै प्रकारका सहयोग प्राप्त गर्ने आधार मानिने छैन। प्रत्येक विद्यार्थीलाई प्रदान गरिने सहयोगको प्रकार, रकम तथा अवधि, विद्यार्थीको वास्तविक आवश्यकता, सामाजिक तथा आर्थिक अवस्था, अध्ययनको प्रकृति, उपलब्ध बजेट तथा छात्रवृत्ति छनोट समितिको निर्णय अनुसार निर्धारण गरिनेछ।
आवास तथा यातायात सहयोग विशेष गरी अभिभावकविहीन, एकल अभिभावकको संरक्षणमा रहेका, आर्थिक रूपमा विपन्न, वा अध्ययनका लागि आफ्नो स्थायी बसोबास स्थानभन्दा बाहिर बस्न बाध्य भएका विद्यार्थीहरूको आवश्यकता मूल्याङ्कन पश्चात् मात्र उपलब्ध गराउन सकिनेछ।
खण्ड ५: छात्रवृत्ति निरन्तरताका सर्त तथा नियमहरू (Scholarship Retention Conditions)
छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूले कक्षा ११ तथा १२ को अध्ययन अवधिभर निम्न सर्त तथा नियमहरूको पालना गर्नुपर्नेछ। यी सर्तहरू पूरा नभएको अवस्थामा छात्रवृत्ति आंशिक वा पूर्ण रूपमा स्थगन, नवीकरण नगर्ने वा रद्द गर्न सकिनेछ।
- आवधिक समीक्षा:छात्रवृत्ति प्राप्तकर्ताको शैक्षिक प्रगति, उपस्थिति, अनुशासन तथा समग्र अध्ययन अवस्थाको कम्तीमा प्रत्येक छ महिनामा समीक्षा गरिनेछ। समीक्षा सन्तोषजनक नदेखिएमा छात्रवृत्ति नवीकरण स्थगन हुन सक्नेछ।
- न्यूनतम उपस्थिति तथा अनुशासन:विद्यार्थीको अध्ययनरत विद्यालय वा कलेजमा न्यूनतम ७५ प्रतिशत उपस्थिति हुनुपर्नेछ। विद्यालय वा कलेजका नियमहरूको पालना, अनुशासन तथा जिम्मेवार व्यवहार अनिवार्य हुनेछ।
- शैक्षिक प्रगति:छात्रवृत्ति निरन्तर प्राप्त गर्न विद्यार्थीले आफ्नो अध्ययन सन्तोषजनक रूपमा अगाडि बढाएको हुनुपर्नेछ। कक्षा ११ को कुनै पनि विषयमा Non-Graded (NG) प्राप्त भएमा वा अध्ययनमा गम्भीर कमजोरी देखिएमा छात्रवृत्ति नवीकरण नगर्ने निर्णय गर्न सकिनेछ।
- विद्यालय वा कलेज परिवर्तन:छात्रवृत्ति प्राप्तकर्ताले अध्ययनरत विद्यालय, कलेज वा कार्यक्रम परिवर्तन गरेमा सात दिनभित्र संस्थालाई लिखित वा विद्युतीय माध्यमबाट जानकारी गराउनु पर्नेछ।
- विशेष परिस्थिति:गम्भीर स्वास्थ्य समस्या, दैवी प्रकोप, पारिवारिक शोक वा अन्य नियन्त्रण बाहिरका विशेष परिस्थितिका कारण विद्यार्थीले निर्धारित सर्तहरू पूरा गर्न नसकेको अवस्थामा आवश्यक प्रमाणसहित निवेदन पेश गर्न सक्नेछ। त्यस्ता अवस्थामा छात्रवृत्ति छनोट समितिले आवश्यक समीक्षा गरी उपयुक्त निर्णय गर्न सक्नेछ।
- अनुगमन तथा प्रमाणीकरण:संस्थाले आवश्यक ठानेमा विद्यार्थीको उपस्थिति, शैक्षिक प्रगति तथा छात्रवृत्तिको उपयोगितासम्बन्धी जानकारी सम्बन्धित विद्यालय, कलेज वा अभिभावकमार्फत प्राप्त गरी अनुगमन गर्न सक्नेछ।
- छात्रवृत्ति रद्द गर्ने अधिकार:झुट्टा विवरण पेश गरेको, अध्ययन परित्याग गरेको, अनुशासनहीन गतिविधिमा संलग्न भएको वा छात्रवृत्ति कार्यक्रमको उद्देश्य विपरीत कार्य गरेको पाइएमा छात्रवृत्ति जुनसुकै समयमा रद्द गर्न सकिनेछ।
खण्ड ६. छात्रवृत्ति वितरण तथा भुक्तानी व्यवस्था (Scholarship Disbursement and Payment Policy)
छात्रवृत्ति अन्तर्गत प्रदान गरिने सहयोग विद्यार्थीको आवश्यकता, स्वीकृत सहयोगको प्रकृति तथा उपलब्ध बजेटका आधारमा वितरण गरिनेछ।
- शिक्षण शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क तथा विद्यालय वा कलेजलाई तिर्नुपर्ने अन्य शैक्षिक शुल्कहरू सम्बन्धित विद्यालय वा कलेजलाई मात्र प्रत्यक्ष भुक्तानी गरिनेछ। यस्ता शुल्क विद्यार्थी वा अभिभावकलाई नगद वा प्रत्यक्ष हस्तान्तरण गरिने छैन।
- पाठ्यपुस्तक, स्टेशनरी, विद्यालय पोशाक, शैक्षिक सामग्री, आवास तथा अन्य स्वीकृत सहयोगहरू सम्बन्धित विक्रेता, सेवा प्रदायक संस्था, होस्टेल वा सम्बन्धित पक्षलाई प्रत्यक्ष भुक्तानी गरी वा वस्तुगत सहयोगका रूपमा उपलब्ध गराउन सकिनेछ।
- विशेष तथा औचित्यपूर्ण परिस्थितिमा मात्र छात्रवृत्ति छनोट समितिको निर्णय अनुसार विद्यार्थी वा अभिभावकलाई प्रत्यक्ष भुक्तानी गर्न सकिनेछ। यस्तो अवस्थामा सम्बन्धित खर्चको बिल, रसिद, भुक्तानी प्रमाण वा समितिले आवश्यक ठानेका अन्य कागजातहरू पेश गर्नुपर्नेछ।
- छात्रवृत्ति अन्तर्गत प्रदान गरिने कुनै पनि सहयोग कार्यक्रमको उद्देश्य अनुरूप प्रयोग भएको सुनिश्चित गर्न संस्थाले आवश्यक अनुगमन तथा प्रमाणीकरण गर्न सक्नेछ।
- छात्रवृत्ति अन्तर्गत भएका सम्पूर्ण भुक्तानी, खरिद तथा सहयोग वितरण सम्बन्धी अभिलेख संस्थाले सुरक्षित रूपमा राख्नेछ।
- छात्रवृत्ति रकम वा सामग्रीको दुरुपयोग भएको, गलत विवरण पेश गरिएको वा निर्धारित उद्देश्य विपरीत प्रयोग भएको प्रमाणित भएमा संस्थाले सम्बन्धित सहयोग रोक्का गर्न, फिर्ता माग गर्न वा भविष्यका कार्यक्रमहरूबाट अयोग्य घोषित गर्न सक्नेछ।
छात्रवृत्ति सहयोग दुई किस्तामा वितरण गरिनेछ। पहिलो किस्ता विद्यार्थीको भर्ना तथा आवश्यक प्रक्रिया पूरा भएपछि वितरण गरिनेछ भने दोस्रो किस्ता पहिलो किस्ता वितरण भएको करिब छ महिनापछि विद्यार्थीको शैक्षिक प्रगति, उपस्थिति, अनुशासन, अध्ययन निरन्तरता तथा छात्रवृत्ति कार्यक्रमका सर्तहरूको पालना सन्तोषजनक रहेको आधारमा वितरण गरिनेछ। आवश्यक परेमा विद्यार्थीले सम्बन्धित विद्यालय वा कलेजबाट प्राप्त प्रगति विवरण, उपस्थिति अभिलेख वा अन्य आवश्यक कागजात पेश गर्नुपर्नेछ। सन्तोषजनक प्रगति नदेखिएमा वा कार्यक्रमका सर्तहरू उल्लङ्घन भएको पाइएमा दोस्रो किस्ता आंशिक वा पूर्ण रूपमा रोक्न सकिनेछ।
खण्ड ७: अन्य व्यवस्था
- झुट्टा, भ्रामक वा तथ्यहीन विवरण पेश गरेको पाइएमा आवेदन जुनसुकै चरणमा रद्द गरिनेछ तथा प्रदान गरिएको छात्रवृत्ति समेत फिर्ता लिन सकिनेछ।
- ज्योतिर्ज्ञान भवन परोपकारी समाज वा छात्रवृत्ति छनोट समितिले आवश्यक ठानेमा आवेदकको विवरण, शैक्षिक योग्यता, सामाजिक तथा आर्थिक अवस्था सम्बन्धित विद्यालय, वडा कार्यालय, स्थानीय तह वा अन्य सम्बन्धित निकायमार्फत प्रमाणीकरण गर्न सक्नेछ।
- छात्रवृत्ति प्राप्त गर्ने वा नगर्ने सम्बन्धमा छात्रवृत्ति छनोट समितिको निर्णय अन्तिम हुनेछ।
- यस सूचनामा उल्लेख नभएका विषयहरूमा ज्योतिर्ज्ञान भवन परोपकारी समाज तथा छात्रवृत्ति छनोट समितिको निर्णय अन्तिम हुनेछ।